“बेलामै तयारी नगर्ने नेतृत्वले समयमै रक्षा गर्न पनि सक्दैन।”

वैशाख १२ गते मध्याह्नमा जब ७.८ रेक्टर स्केलको भूकम्प गयो तब हामी सबैलाई यसको अर्थ महसुस हुन थाल्यो। गएको १ महिनामा हामी हजारौं अाम नागरिकलाई साथ लिई १७ जिल्लाका ३०० भन्दा बढी ठाउँमा राहत  र साथै २०० भन्दा बढी चिकित्सक टोलीहरु परिचालन गर्यौं। त्रास हटाउन मनोवैज्ञानिक परामर्शदाताको काम र महामारी फैलन नदिन सामाजिक स्वास्थ्यकर्मीलाई पनि परिचालन गर्यौं। महाविनाशकारी भूकम्पले सिर्जना गरेको अपार क्षतिसँग जुध्ने क्रममा सिकेका यी अनुभवहरुबाट विवेकशील नेपाली दलले देशको उत्थानको लागि ‘पाँच -आर (5R) रणनीति’ अघि सारेको छ। यस रणनीतिलाई हामीले

१) उद्धार (Rescue),

२) राहत (Relief),

३) पुनर्स्थापना (Rehabilitation),

४) पुनर्निर्माण (Reconstruction), र

५) उत्थान (Resurgence)

को चरणमा वर्गीकरण गरेका छौं। अहिले नेपालमा उद्धार र राहत चरणको समाप्त हुँदै गरेको छ र पुनर्स्थापना चरणको सुरुवात हुन लागेको छ।

for news- bibeksheel strategy

अहिले सरकार लगायत सयौं संघसंस्था एवं व्यक्तिहरु स्वयंसेवी भावना बोकेर गाउँ गाउँमा उद्धार र राहत वितरणमा खटिईरहेका छन् । प्रभावितको दैनिक जीवनलाई सामान्य एवं सहज तुल्याउन उद्धार र राहत मात्र होईन अब त पुनर्स्थापना, पुनर्निर्माण र उत्थानको बाटोमा पनि ठोस योजनासहित लाग्नु अनिवार्य देखिन्छ। छरिएका हजारौं असल अभियानहरुलाई दीर्घकालिन मार्गदृष्टिमा जोडेर लानुपर्ने आवश्यकता छ। यस्तो समन्वयको नेतृत्व सरकार आफैंले लिनु उपयुक्त हुन्छ। तसर्थ, नेपाल सरकारलाई यी पाँच-आर रणनीति अख्तियार गरी अघि बढ्न हामी आग्रह गर्दछौं र यस सम्बन्धी सरकारको कदमलाई विवेकशील नेपालीले हर तरहले सहयोग पुर्याउने समेत प्रतिवद्धता जनाउँदछौं।

 

विवेकशील नेपालीले भुकम्प प्रतिक्रियात्मक टास्क फोर्स गठन गरी हालसम्म १७ जिल्लाका ३०० भन्दा बढि ठाउँमा खट्दा हासिल गरेका अनुभवहरु सम्बन्धित सबै सरोकारवालालाई सन्दर्भ-सामग्री हुनसक्छ । हामी उक्त टास्क फोर्स को गठन, संरचना, कार्यविधि र व्यवस्थापनको अहिले सम्मको अभ्यासलाई नजिकबाट अवलोकन गर्न नेपाल सरकारका अधिकारीहरुलाई सादर निमन्त्रणा समेत गर्दछौं।

हाम्रा पाँच-आर रणनीतिलाई संक्षेपमा देहाय अनुसार उल्लेख गर्न सकिन्छ ।

 

१) उद्धार को रणनीति :

 

बिपत्ति अाँउछ भन्ने थाहा हुँदाहुँदै तयार नहुने सरकार सरकार रहँदैन, खाली मुकदर्शक। त्यसैले उद्धार रणनितिमा मुख्यत: सरकारको प्रमुख भुमिका रहन्छ। विपत्ति भएको ठाँउमा सरकारले एउटा छुट्टै संचार बिभाग खोल्नु पर्छ – युवा स्वयंसेवकहरु राखी। स्थानीय सरकारको काम यस बेला मद्दत गर्ने र मद्दत माग्ने बीच समन्वय गरि दिने हो। केन्द्रीय सरकार विनम्र र खुल्ला रही अाफ्नो शक्तिको परिचालन गर्ने हो। उद्धारको प्रणाली पहिले नै पूर्वतयारी भै सक्नु पर्छ र यसलाई बेला बेलामा अभ्यास गरी चुस्त पारिनु पर्छ। प्रहरी र सेनालाई उद्धारमा नियमित र विशेष तालिम दिई राख्नु पर्छ। शहर र गाउँका क्लबहरुमा नियमित उद्धार तालिम दिने प्रणाली हुनु पर्दछ। हरेक राजनीतिक दलभित्र पनि प्रष्ट प्रोटोकल बनाइनुपर्छ जसले गर्दा त्यस दलका हरेक कार्यकर्ताले अाफ्नो परिवार सुरक्षित भएको थाहा पाएपछि तुरुन्तै नजिकैको अस्पताल वा दुर्घटना घटनास्थलमा परिचालित भई सरकारलाई मद्दत गर्ने थाल्ने।

 

२) राहत को रणनीति:

 

राहत पारदर्शी र जवाफदेहि तरिकाले बाँडिनु पर्छ र यसमा धेरै दोहोरोपन हुने हुँदा केहि मात्रामा कम गर्न भए पनि एउटा ठुलो हलमा मद्दत गर्ने बिभिन्न संघ-संस्थाका एक-एक प्रतिनिधि राखी “सहयोग कक्ष” खोली दिनु पर्छ। त्यहाँ ईन्टरनेट देखि अरु अत्याधुनिक दुरसञ्चार, ईन्टरनेट वा बिजुलीको कुनै असुविधा हुनु हुन्न र सयौं संघ-संस्था-समुह सम्म अट्ने किसिमले मिलाईएको हुनु पर्छ। विदेशबाट मद्दत गर्न चाहनेलाई पनि यस क्षणमा एक-अर्का सँग जोडि दिने वातावरण बनाईदिनु पर्छ ताकि मद्दतमा कुनै ढिलासुस्ती नहोस्। महाविपत्तिको बेला सरकारले अलिकन माथि उभिएर सबै मद्दतकर्तालाई पहिले सहजिकरण गर्ने अनि बिस्तारै व्यवस्थापन गर्दै जानु उचित हुन्छ। जिल्लामा वा सदरमुकामसम्म राहत पुर्याई त्यहाँका सेना वा प्रहरीको सुरक्षामा राहत मद्दत गर्ने गैर सरकारी टोलीले पनि स्थानिय सरकारको मातहातमा राहत बाँड्ने माहोल सिर्जना गर्नु जरुरी छ ताकि मद्दत गर्ने र मद्त लिने बिच प्रत्यक्ष सम्बन्ध पनि रहोस्, सम्मानजनक तरिकाले प्रभावितलाई राहत पनि बाँड्न सकियोस् र सरकार नियन्त्रणमा छ भन्ने भान पनि परोस् सबैलाई। राहत वितरणको चरणमा सरकारले देश सेवा र भक्तिमा समर्पण गर्न अाह्वान गर्दै राहत र सहायतामा पारदर्शी ल्याउन अाफै पारदर्शिताको नमुना बनी अरुलाई पनि जवाफदेही बनाउने प्रणाली शुरु गर्नु पर्छ। यो बेला भनेको सरकारले अन्तराष्ट्रिय जगतमा अाफ्नो उदारता र बिनम्रताको कुटनीति देखाउने बेला पनि हो।

 

३) पुन:स्थापना को रणनीति:

 

प्रभावितलाई न्युनतम गाँस, बास र कपास पुर्याए पछि अब उन्‌को गौरव (प्रतिष्ठा) जोगाउन तिर लाग्नु अति महत्वपूर्ण बन्न जान्छ। त्यसैले प्रभावितलाई बिस्तारै सामान्य जीवनतिर फर्कन प्रेरित गर्न बिभिन्न उपायहरु निकाल्नु पर्छ- विशेष गरि मानसिक तनाब घटाउने अभ्यासका साथसाथै अस्थाई शिविर वा घरमा बस्दा सार्वजनिक स्वास्थ्यको ख्याल राख्ने । अझ गाँउ ठाँउमा त पशुपालनले प्रमुख भुमिका खेल्ने हुदाँ पशुपालन र पशु स्वास्थ्यमा सुधार ल्याई गाउँबासीलाई दैनिक कार्यमा व्यस्त गराउनु अत्यन्त जरुरी रहन्छ। अाँउदो बर्खामा न्युनतम अोभानो ठाँउमा बसोबास गराई खेतिपाती तर्फ लाग्न मिल्ने स्थिति सम्म बनाउनलाई सरकारले एक राष्ट्रिय स्वयंसेवक सन्जालको संयोजन गरि त्यसलाई स्थानिय सरकारको मातहातमा परिचालन गर्न सक्नु पर्छ। यस कार्यमा सूचना प्रबिधि (IT) को प्रयोग बाट को, कहाँ, कसरी, कसको श्रोतमा जान्छ यो सबै सजिलै व्यवस्थापन गर्न सकिन्छ। जवाफदेहिताको प्रश्न यस्तो बेला सबैभन्दा महत्वपूर्ण हुन्छ त्यसैले यसलाई संवोधन गर्न अख्तियार दुरुपयोग अायोग भित्र एउटा अधिकारयुक्त “जवाफदेहिता बोर्ड” बनाई हरेक राहत वितरण, पुन:स्थापना र पुन:निर्माणको कामको पारदर्शिता र जवाफदेहिताको अख्तियारी दिईनु पर्छ चाहे त्यो सरकारी होस्, समाजसेवा संगठन होस् वा नीजी क्षेत्रकै।

 

४) पुन:निर्माण को रणनीति:

 

अाफ्नो घर, बस्ती, स्कुल वा समाज पहिले भन्दा राम्रो नदेखे सम्म वा अनुभव नगरे सम्म पिडितहरुले स्थायी रुपमा अाफ्ना सामान्य जीवनमा फर्कन सक्दैनन्। त्यसैले पुन निर्माणको लागि हामी सरकारको प्रधानमन्त्रीको मातहातमा स्वायत्त: “नेपाल पुन:निर्माण बोर्ड” बनाउनै पर्छ जुन ३ बर्ष सम्म काम सक्काई अाफै विलिन हुन्छ। यसले सरकार, निजी क्षेत्र र दातृ संस्थालाई मिलाई काम गराउँछ। यसले निजी क्षेत्रको चुस्तता र सरकारको जवाफदेहिता र दातृ निकायको लगानीलाई सन्तुलन गरि चुस्त तरिकाले लागु गर्छ।  त्यस माथि हाम्रो देशमै सम्मानजनक रोजगार सिर्जना गर्न यो निकायले अाँट्नेछ। नेपालमा प्राय जसो घरका कोहि न कोहि विदेशमा रोजगारमा पुगेका छन् त्यसैले उनीहरुलाई नेपालै फर्काई यहीं नै महत्वपूर्ण पुन:निर्माणको काम दिन सकियो भने परिवार पनि सुरक्षित महसुस गर्ने र देशलाई चाहिने सबल शक्ति पनि देशमै हुने। हरेक गाउँमा एक भुकम्प प्रतिरोधात्मक घर बनाउने सीप भएको स्वयंसेवकको पहल र व्यवस्थापन पनि “नेपाल पुन:निर्माण बोर्ड”ले गर्नै पर्छ। पुरानो संरचना भत्किएको अहिलेको नेपालमा अब नयाँ नेपालको संरचना बनाउने यो सुनौलो अवसर र नेपालीलाई अात्म निर्भर बनाउनुको एउटा महत्वपूर्ण कदम हो।

 

पुन:निर्माणमा सबै भन्दा महत्वपूर्ण काम भनेको यसका कार्यलाई जवाफदेही, ईमान्दार र चुस्त बनाउनु हो र त्यसका लागि निर्वाचित स्थानीय सरकार अपरिहार्य छ। भुकम्पको समस्या बल्झिएको प्रमुख कारण नै जनताले विश्वास गरेको स्थानीय प्रतिनिधि नभएरै हो। जनतामा लोकतन्त्र प्रतिको विश्वास राखी राख्ने यो नै अन्तिम उपाय हो अब। जब अाफुले नै चुनेर पठाएको प्रतिनिधि गाउँ, शहरमा काम गर्न थाल्छन् तब पुन:निर्माणको कार्य तिब्र हुन्छ र अहिलेका बाधक – राजनीतिक भागबण्डाको जवाफहीन, गैरजिम्मेवार संरचना र त्यसले टुक्राएको समाज विलिन हुनेछ। जवाफदेही सरकार विना पुन:निर्माण असफल नै हुनेछ त्यसैले यस्तो कठिन परिस्थितिमा पनि जवाफदेही, प्रतिवद्ध नेतृत्व चुन्ने अवसर अाम जनताले तुरुन्तै पाउनु पर्छ।

 

५) (नेपालको) उत्थान को रणनीति:

 

घर उठेर मात्र हुँदैन, बस्ती बनेर मात्र पुग्दैन, भुकम्पले नेपालीहरुमा अहिले जगाएको विवेक जोगाई राखि चुस्त रुपमा परिचालन गर्नु यो समयको माग हो। विवेक जागेको देश लम्कन कत्ति पनि बेर लाग्दैन। मात्र हाम्रो दृढ ईच्छाशक्ति चाहिन्छ। नेपाली ईतिहासँ दुई कालखण्ड बाडेँ हुन्छ- भूकम्पअघिको नेपाल र भूकम्पपछिको नेपाल। अबको नेपाल बनाउने जिम्मा नेपाली नागरिकले नै लिनु पर्छ। उसलाई सक्षम, उद्दमशील, अात्म निर्भर बनाउने बाटोमा लान नवनिर्वाचित स्थानिय सरकारको नेतृत्व चाहिन्छ। यसको नेतृत्वमा हामीले २१ वौँ सताब्दी सापेक्ष अस्पताल, विधालय र गाउँ- शहर बनाउन तिर लाग्यौँ भने विश्वको लागि हामी नै नमुना बन्छौँ। देशभक्ति त्यसै जाग्दैन, जगाउनै पर्छ। नेपाली भनेर मात्र पुग्दैन बनेरै देखाउनु नै पर्छ। अबको शिक्षाको मुल मर्म, “मेरो देश, मेरो दायित्व” बाट लक्षित भई एक्काइसौं शताव्दी समय सापेक्ष बनाउने यो ठुलो अवसर छ। यहि मर्म अात्मसात् गर्न राष्ट्रिय गौरवका कामकारवाहीमा नेपाली स्वय़ंसेवक, उद्यमी र पेशाकर्मीलाई नेतृत्व दिनै पर्छ। बर्षमा कम्तीमा एक चोटी एउटा कुनामा पढ्ने विधार्थीहरु देशको अर्को कुनामा राष्ट्रिय गौरवको काममा कम्तिमा पनि १ महिनासम्म माटोसँग खेल्नु पर्ने राष्ट्रिय रणनीति विकास गर्नै पर्छ। भूकम्पले जगाएको देशभक्तिलाई जगाई राख्न दिगो व्यवस्थापन गर्न सक्नु नै ‘उत्थान”को कर्तव्य हो।

 

नेपाललाई अब २१ वौँ शताव्दी सापेक्ष ‘जोश र होश’ दुवै मिलेर बनेको नेतृत्व नै चाहिन्छ जो जवाफदेहि, पारदर्शी र विपदको समयमा नेपालीहरुको ज्यान समयमै बचाउन लम्कन्छ। यस्तो नेतृत्व केन्द्रमा मात्र होईन गाँउ-टोलमै बिकास गर्नु अपरिहार्य छ नत्र एउटा सम्पूर्ण कालखण्ड नै परनिर्भर, विवेकहीन बनेर जान्छ। अहिले विवेकशील नेपाली लगायत देशका सम्पूर्ण नेतृत्वलाई सबै भन्दा महत्वपूर्ण चुनौती भनेकै भुकम्प पछिको देश र त्यसमा हुर्कने पुस्ता दुवैको उत्थान हो। हामी सबैलाई एउटै प्रश्न: यस्तो चुनौतीको सामना अहिले नगरे कहिले गर्ने ? र हामीले नै नगरे कसले गर्ने?

 

उज्वल थापा

अध्यक्ष

विवेकशील नेपाली दल

facebook.com/ujwal

twitter.com/ujwalthapa

 

Start typing and press Enter to search