जम्बो मन्त्रीमण्डलप्रति विवेकशील नेपाली दलको आपत्ति

आज नेपाल इतिहासको एउटा कठिन घडीमा उभिएको छ। नेपाली नागरिक भूकम्प, नाकावन्दी र कठ्याँग्रिदो चिसोबाट एकपछि अर्को रूपमा प्रताडित भैरहेका छन्। एक दशकसम्म द्वन्द्वको सास्ती खेपेर निर्माण गरिएको संविधानलाई जारी गरिएपछिको पहिलो सरकारले नै संविधानको उलंघन गरेको छ। विगतका बिभिन्न अध्ययनको निष्कर्ष विपरित भागवण्डा पुर्याउन तथा राज्यकोषको दुरुपयोग गर्न कै लागि मन्त्रालयहरुलाई जथाभावी टुक्र्याईएको छ र संविधानले तोके भन्दा धेरै ठुलो मन्त्रिमण्डल गठन गरि आम नेपाली जनताको सुशासन, विधिको शासन र लोकतन्त्रप्रतिको अपेक्षा माथि ठाडो प्रहार गरेको छ।

वर्तमान सरकारले संविधानको धारा ७६ को उपधारा ९ को पूर्ण विपरीत उभिएर संविधानको धज्जी उडाउने काम गरेको छ । संबिधानत: नेपालमा २५ जना भन्दा बढीको मन्त्रिमण्डल निर्माण गर्न नमिल्नेमा ४० जनाको मन्त्रीमंडल निर्माण गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक संस्कार र लोकतन्त्रको धज्जी उढाएका छन्।

व्यक्तिगत तथा राजनीतिक-दलगत स्वार्थ परिपूर्तिका लागि आम नेपाली जनताहरुलाई बलिको बोको मात्र बनाईरहेको फोहोरी राजनीतिक खेल प्रति विवेकशील नेपाली दल घोर आपत्ति प्रकट गर्दछ। यसर्थ, मन्त्रीमंडलको संख्या अविलम्ब संबैधानिक बनाएर राज्य संचालन गर्नका लागि विवेकशील नेपाली दल सरकारको ध्यानाकर्षण गर्दछ। संविधान निर्माण पछिको अवस्थामा पनि सरकार गैर-संबैधानिक ढंगले चल्ने र नीतिगत भ्रष्टाचारमा लिप्त हुने हो भने विवेकशील नेपाली दल यो सरकारलाई जवाफदेही बनाउन शसक्त खबरदारी गर्न बाध्य हुनेछ।

रमेश पौड्याल
प्रवक्ता
विवेकशील नेपाली दल
फोन : ९८५१००४२९७
इमेल: info@leadnepal.com
मिति: २०७२/ ०९/ २३ गते ।

Start typing and press Enter to search