परदेशी जिवन को यथार्थता

Last updated on Dec 21, 2016

प्रदुम्न रेग्मी [हाल टोरंटो क्यानाडा ]

मानिस स्वभाव ले नै प्रगती र उन्नतिमा रम्ने प्राणी हो । आफ्नो शिक्षा,ज्ञान्,सिप र आत्मनिर्भरताका लागि उसले सधै सही अवसर को खोजी गर्छ चाहे त्यो स्वदेशमा होस या बिदेशमा । हामी नेपाली हरूमा अध्ययन गरेपछी बिदेश नै जान खोज्ने प्रबृत्ती हावी छ । नेपाली समाजमा पढ्न सक्नेले जसरि पनि पढ्नै पर्ने, पढेपछि जागिर नै खानु पर्ने र जागिर नपाए बिदेशिनु पर्ने बाध्यता आजको टड्कारो यथार्थ हो । अझ नपढेका र केहि सिप पनि नभएकाले निम्नस्तर को ज्यालादारीको काम गर्नका लागी खाड़ीमुलुक जानुपर्ने बाध्यता र त्यहाँ खेप्नु पर्ने सकश कहाली लाग्दो छ । हामीले बिदेश जानु अघी सकेसम्म सकारात्मक र नकारात्मक पक्ष लाई अध्ययन र अनुसन्धान गर्नु अति आबश्यक छ । मुख्यत्:बिदेश जाने हरूलाई दक्ष्,अर्ध-दक्ष र अदक्ष गरी ३ बर्गमा बिभाजन गर्न सकिन्छ ।

ज्यालादारी काम गर्न जाने मुख्य देश हरूमा मध्य-पूर्व का खाड़ी मुलुक्, मलेशिया र दक्षिण कोरिया पर्दछन । त्यहाँ जाने प्राय: कामदार हरूलाई आफुले काम गर्ने कम्पन्री को नाम्, पाउने ज्याला, पद लगायत केहि समस्या परे कसलाई सम्पर्क गर्ने भन्ने समान्य कुरा समेत पनि थाहा हुँदैन । त्यहाँका कम्पनी र मालिकले गर्ने शोषणका बिरुद्धमा आवाज उठाउँने शक्ति यिनिहरूमा हुँदैन ।सबैभन्दा अप्ठ्यारो सहेर काम गर्दै घर्-परिवार लाई केहि पैसा पठाउन बिषम परिस्थितिको सामना गर्दै जिवन गुजारा गरिरहेका हुन्छन उनिहरू । कुनैपनि बिकल्प नभएको परिस्थितिमा वहाँ-हरूलाई बिदेश नजाउ भन्न पनि नमिल्ने साथै आफ्नै समस्यामा झेलिएका वहाँ-हरू बाट देश ले ठुलो सहयोग को आश गर्नु भनेको त्यों समूहलाई नै अन्याय गर्नु सरह हो ।
दोश्रो बर्गमा ठुलो संख्यामा विद्यार्थी भएर जाने मुलुक हरूमा अमेरिका, क्यनाडा , बेलायत्, अष्ट्रेलिया र अन्य यूरोपियन मुलुक हरू पर्दछन । केहि समय पढेर सिप आर्जन गरी भोली देश फर्किन्छु भन्ने सोच राखेर गएका यि बर्ग मध्य अधिकाँश मानिसहरू म जस्तै त्यही देशमा काम गरेर स्थाइ बसोबास गर्ने निर्णय गर्न पुग्छन ।नेपालबाट अध्ययन गर्न आउने प्रतिभाषाली विद्यार्थी हरूलाई बिदेशिले नै थप अध्ययन, आकर्षक काम र बैधानिक बसोबाश को समेत सुविधा प्रदान गरेको हुन्छ ताकी उस्ले आफ्नो आम्दानी, सिप्, कार्यकुसल्ता पुनः बिदेश मा नै लगानी गरोस । स्वदेशमा अवसर को कमि का कारण र सानो काम पुरा गर्न पनि भन्सुन गर्नु पर्ने सामजिक परम्परा ले पनि अधिकाँश मानिस लाई बिदेशमा नै रहन बाध्य गराउँछ ।

तर हामीले सोच्नै पर्ने कुरा के हो भने हामी सबै दक्ष जनशक्ति बिदेश मै बस्दा नेपाल ले हाम्रोलागी २०-३० बर्ष गरेको लगानीको प्रतिफल हामीले के दिएका छौं त? सन २०१० मा म अमेरिकाको टेक्सास राज्यको डलास शहरमा रहेको एउटा नेपाली समुदायले आयोजना गरेको प्रबचन समारोह मा डाक्टर चिन्तामणि योगी ले “तपाईं हरू सबैलाई हार्दिक नमन गर्छु, यति स्वागत गर्नु भयो, मलाई तपाईं हरूको गाडी मा राखेर घर मा ल्याएर यो सदासयता देखाउनु भयो तर एक पटक सोच्नुहोस त, तपाईं हरूले यो घर, गाडी र जाग्गा किनेर नेपाल ले के पायो?” भनेर सोध्दा सबै जान एक अर्काको मुखामुख गरेर खिस्स हाँसेको मैंले पनि देखेको थिएँ | बाहिर बाट हेर्दा सफा बाटो, गगनचुम्बी घर र नालीबेली सडक हरू अति राम्रा देखिन्छन | तर यी देश कसरी बने भनेर घोत्लिंदा “नीति नियम को पालना गर्ने अनुशासन”, “प्राज्ञिक वर्ग को सुझाब र सल्लाह को मर्यादा” र “मैंले यो कुरा गर्दा समाज र अरूलाई के फाइदा र बेफाइदा हुन्छ?” भन्ने सोच नैं प्रमुख कारण हुन् | यहाँ साधारण जनता को तुलनामा उच्च-पदस्थ अधिकारी हरू अझ बढ़ी सम्बेदंशील भएर नीति नियमको पालना गर्छन | बिभिन्न समय माँ विकशित देश हरुमा राष्ट्रपति हरुलाई पनि क़ानूनी कारबाही भएको हामीले सुनेका छौं |बिकासको मापक मुख्य:त ब्यबहारिक शिक्षा, समाजमा एक-अर्का प्रतीकों सम्बेदंशीलता र नीति-नियमको पालना नै हो रहेछ |

 

नेपाल मा राजनीति, प्रशासन र अन्य विधा मा समेत भ्रष्टाचार निर्मूलन र न्यूनीकरण, सामाजिक रुपान्तरण र आर्थिक पारदर्शिता र इमान्दारिता को का कुराहरु केवल बहश मा मात्रै सिमित भएको देख्दा दुख लाग्नु स्वाभाविक हो | हामीले देश बिकासको बहश गरि रहँदा नेतृत्व बिकाश मा बढ़ी जोड़ दिएर सोच्ने बेला आइसकेको छ | पद र अधिकार नहुँदा समेत नीति-नियम तोडेर जसरी भएपनि कुर्सिमा पुग्छु तर त्यों यात्रामा के हुन्छ मलाई मतलब छैन भन्ने सोच राख्ने मान्छे बाट समाज को राम्रो परिवर्तन हेर्न खोज्ने हामी जनता मुर्ख हौं की हैनौ ? मेंले यहाँ कुनै नेताको ब्यक्तिगत समर्पण र त्याग को अबमूल्यन गर्न खोजेको हैन, तर चरित्र र कार्यकुशलता लाइ कसी माँ राखेर नहेरुनजेल सम्म देश को दीगो बिकाश संभव नहुने छर्लङ्ग भइसकेको छ |

 

नीति-नियम तोड़ने र संस्था लाई कमजोर बनाउन खोज्ने जो सुकैलाइ कड़ा भन्दा कड़ा सजाय को भागिदार बनाउनु नै पर्छ |संस्था बलियो नभै देश बलियो हुनै सक्दैन | देश को स्वार्थ कुनै संस्था वा संगठन को स्वार्थ भन्दा ठुलो हुनै पर्छ | बिदेशमाँ बस्ने हामी नेपाली ले अपराध अनुसन्धान गर्न नेपाल प्रहरी लाइ उपकरण वा सूचना प्रबिधि का सामान हरू दिएर सहयोग गर्न सक्छौं, एक मात्र अंतरराष्ट्रीय विमानस्थल को अध्यागमन को लागि राष्ट्रीय सुरक्षा संग जोडिएका उपकरण हरुलाई आधुनिकीकरण गर्न मद्दत गर्न सक्छौं | ब्यबहारिक शिक्षा, स्वास्थ, सामाजिक चेतना र पारस्परिक सहयोग को लागि रूपान्तरण को अभियान को माध्यम बनेर सहयोग गर्न सक्छौं | साथसाथै संचार क्षेत्रमा काम गर्ने पत्रकार देखि संचारकर्मी साथीहरूले बिनम्र तर सार्थक प्रश्न प्रसाशन, न्याय, सुरक्षा, राजनिति, शिक्षा, समाज-कल्याण, स्वास्थ, पर्यटन र यातायात साथै सबै निकायका हरेक जवाफदेही अंग हरुलाई बारम्बार सोधि रहनु आवश्यक हुन जान्छ | निर्बाचन को समय अघिको भाषण को भर माँ मात्रै हैन कसको कार्यकाल मा के-कुरा राम्रा भए त्यसको आधारमा मूल्याङ्कन हुनु जरुरी छ | हामीले बुझ्नै पर्ने र गहन कुरा के हो भने नेताहरु जनता को भोटले चुनिएर आउने हुन त्यसैले नेता ले जनता प्रति सधै जवाफदेही र बफादार हुनु पर्छ | “जनता जनार्दन” भनेर यसै भनिएको हैन |अधिकांश ठाउँ र पार्टी हरूमा विभिन्न शिक्षित, जान्ने सुन्ने र विद्वत वर्ग ले पनि पटक पटक “नेपाल खत्तम भयो, नेपाल मा कहिले पनि केहि हुन्दैन, नेपाल मा जे पनि हुन्छ, नीति नियम नैं छैन भनेको सुन्दा म मेरो मन छिया-छिया भएको महशुश गर्छु |

 

आलोचना गर्नु को साटो सकारात्मक र रचनात्मक काम गरे त्यसको राम्रो प्रभाव समाजमा पर्छ | मेरो बारेमा भन्नु पर्दा म पनि पढेर देश फर्किन्छु भनेर अमेरिका आएको हु, आफ्नैं स्वार्थ ले अनेक बहाना बनाएर यतै बस्ने जमर्को गरे| र मैंले आफैंले आफुलाई कहिले काहिं “देश द्रोही” भन्ने गरेको छु | मैंले पनि नेपाल आमा को २२ वर्ष को लगानी लिएर देशलाई परिणाम शुन्य दिएको छु | तर नेपाल लाइ केहि नगरे पनि नेपाल खत्तम भयो भनेर कुनै दिन गाली गर्ने छैन किनकि मलाई नेपाल र नेपाल का नेता लाइ गाली गर्ने नैतिक अधिकार छैन |
अर्को वर्ग मा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था मा काम गर्ने र अति उच्च ओहोदा मा बस्ने राजदूत, स्थायी प्रतिनिधि र कुटनीतिक पक्ष का ब्यक्तित्व पर्नु हुन्छ | वहा हरू को जमघट मा के कस्ता कुरा ले प्राथमिकता पाउछ त्यो मलाई जानकारी हुने कुरा भएन | तर मेरा एक जान मित्र ले भनेको कुरा झल्झली सम्झिन्छु, “हेर साथी, तिमि हामी साधारण स्कूल मा पढेको ले हामि नेपाली मा नेपाल र नेपाल को नेता लाइ गाली गर्छौं, राम्रा स्कूल पढेका ले अंग्रेजी मा नेपाल र नेपाल ल नेता लाइ गाली गर्छन, कुरा उस्तै उस्तै हो” | तर अहिले सम्म को नेपाल को कुटनैतिक मर्यादा गिर्दै गएको दृश्य लाइ नजरअन्दाज गर्न सकिँदैन | नैतिकता को ज्ञान अन्तरात्मा बाट नैं आउनु पर्छ | किताब को ठेली र सर्टिफिकेट ले नैतिकता प्रदान गर्ने हैन रहेछ |

 

बिकशित देश मा साना साना कुरा हरू राम्रो संग गर्नु पर्छ भन्ने कुरा मा जोड दिने चलन छ | उदाहरण को लागि यहाँ का १० क्लास पढ्ने बिद्यार्थी हरू काम गर्दै पढ्न सक्छन र पढ्दै गर्दा काम गरेर सिप सिक्नु पनि उत्तिकै महत्वपुर्ण मानिन्छ | शिक्षा ब्यबहारिक र समय सान्दर्भिक छ, यहाँ सफल हुन धेरै डिग्री हरू लिने पर्छ भन्ने छैन | यहाँ को बिशेष सुन्दरता भनेको परिश्रम को सम्मान हो, यहाँ कसैले कसैलाई सर भन्नु पर्दैन, कुनै काम ठुलो सानो छैन, न त सानो दर्जा को मान्छे ले ठुलो दर्जा को लाइ नमस्कार नैं गर्नु पर्छ | तिमीले कति पैसा पाउँछौ भनेर हैन “के तिमी काम मा खुशी छौ?” अथवा “के तिमीले गर्न खोजेको येही हो?” भनेर सोध्ने चलन छ | आफुले नजानेको कुरा मलाई थाहा छैन भन्नु कुनै नराम्रो कुरा हैन बिदेशमा |

हाम्रो समाजमा “मलाई थाहा छैन” भन्नु भनेको सानो मान्छे हुनु हो भन्ने हिनताबोध को भावना प्रगाढ छ | बिकसित देश हरुमा सडक मा दुर्घटना भयो भने किन भयो भनेर कारण खोजिन्छ, र दोष सवारी चालक को भए उसले जरिवाना तिर्नु पर्छ पटक पटक गल्ति गरे गाडी को बिमा को प्रिमियम बढेर तिर्न नसक्ने र सवारी चालक को गाड़ी चलाउने अनुमति पत्र र गाडीको बिमासमेत रद्ध पनि हुन सक्छ | पटक पटक नियम तोड्ने लाइ सख्त सजाय हुन्छ, नियम को उल्लङ्घन हुँदा त कून देश को हो भनेर सोध्ने चलन छैन | तर खुल्ला समाज भएको ले केहि जटिल समस्या हरू यी समाज मा पनि छन् | पति पत्नी को सम्बन्द बिच्छेद, युवा वर्ग मा लागु पदार्थ सेवन को बढ्दो समस्या, अनुशासन को कमि, परिवार मा त्यति आत्मियता नभए जस्तो देखिनु र अलि बढी व्यक्ति बिशेष मा जोड दिने र स्वार्थी समाज पनि हो यो | अर्को दुख लाग्दो कुरा के हो भने यिनीहरूलाई बाहिरी संसार को धेरै कम मतलब भएको महशुश हुन्छ | यिनीहरूलाई धेरै देश, महादेश र साधारण कुरा को बारेमा थाहा हुन्दैन | मैंले एकपटक स्कूल मा मेरो साथी जिम लाइ संसार का बिभिन्न देश का राजधानी को नाम सोधेको थिएँ ,जिम ले “संसार को देश र राजधानी थाहा भएर मेरो जिन्दगि कसरि सुध्रिन्छ?” भनेर सोध्धा मलाइ नैं त्यसको जवाफ दिन हम्मे हम्मे परेको थियो |

बिदेशमा रहेका सबैले श्री-सम्पति बोकेर र पारिवारिक स्थिति बिगारेर भोली नै नेपाल फर्किनु पर्छ भन्ने मेरो आशय हैन | संजोग:बश ४५ बर्ष अघि हाम्रो संपूर्ण परिवार जन्मेको भोजपुर जिल्ला को दिलपा नागी गाउ को हाम्रो घर को पुरानों तस्बीर २ दिन अघि मात्र मेरो दाजुले पोस्ट गर्नु भएछ । आफु जन्मे-हुर्केको तर अति बिकट ठाउँको फोटो हेर्दा आँखाबाट बलिंद्र आँशु झरे | त्यो समयमा हामी र हाम्रा भविष्य को बारेमा कसैले नसोचेको भए आज मेंले यहाँ सम्म आइपुग्न अशंभव हुन्थ्यो | आज भन्दा ७० बर्ष अघि को समयमा र त्यो ग्रामीण परिबेशमा पनि छोरा/छोरीलाइ शिक्षा प्रदान गर्नु पर्छ भन्ने उच्च सोच राख्ने हाम्रा बुवा/मुमा लाइ आज हामी सबै परिवार ले नमन गर्ने पर्छ | वहां-हरूले धेरै पढ्नु भएको थिएन तर वहाँ-हरू धेरै चेतनशील हुनु हूंदो रहेछ | हो हामी सबै आ-आफ्नै चुनौती र समस्या संग खेल्दै जिंदगी को यात्रा गर्ने हौं | हैन मेंले नेपाल छाड़ि सकें, मलाई यो जन्मेको र हुर्केको ठाउँ को केहि मतलब छैन भन्ने सोच राख्ने हो भने बेग्लै कुरा हो, नत्र संसार को जून कुनामा बसेपनि आफ्नो क्षमता अनुसार सहयोग गर्नु परम कर्तब्य हो |

विदेश आउन खोज्ने हरेक कोहि ले केहि ब्यबहारिक अध्ययन र अनुसन्धान, गरेर आउनु राम्रो हुन्छ | सबै उतै गएर गर्छु भन्ने सोच राखेर आउंदा धेरै मान्छे हरूले निकै दुख समेत पाएका छन | नेपाल मा बाध्यता ले वा अध्ययन का लागि विदेश जाने बाहेक अरू बौद्धिक वर्ग का साथी भाइ हरूलाई यो सल्लाह दिन चाहन्छु, नेपाल मा राम्रो छ भने हामफालेर विदेश न-आउनु नै बेश | कस्तो रहेछ हेरौं भनेर छोटो अध्यन-भ्रमण मा अवश्य आउन सक्नु हुन्छ| नेपाल मा प्रतिष्टित जागिर खाने हरूले एक पटक सोच्नु होला, नेपाल मा पाउने मान, सम्मान र आत्म सन्तुष्टि तपाईं ले यहाँ पाउन सक्नु हुन्न |पैसा मात्रै ज़िन्दगी को सबै कुरा हैन |हाम्रा चाडबाड, रिति-रिवाज, संस्कृति, एक अर्का प्रतिको लगाव , डांडा काँडा, खोला नाला र हिमाल को त्यो नेपाल को सुन्दरता त्यो त्यहाँ मात्रै छ | विदेश को ज़िन्दगी सजिलो संग चल्ने तर बाँधिएको ज़िन्दगी हो नेपाल को ज़िन्दगी खुला र केहि चुनौती भएको ज़िन्दगी हो | तपाईं ज़िन्दगी मा बाँधिन चाहनु हुन्छ वा खुल्ला जिन्दगि जिउन चाहनु हुन्छ, रोजाई तपाइँको आफ्नै हो |

तर अहिले आएर केहि चेतना आयो | नेपाल मा काम नभएको हैन, नेपाल मा काम गर्न हामीलाई लाज हुने रहेछ | हवाइजहाज चढेर अरूको देश मा आइसके पछि विकल्प केहि हुन्न, हामी जे गर्न पनि तयार हुन्छौं | तर नेपालमा त्यहि काम गर्न हामीलाई लाज भएको महसूश हुन्छ,| यो सबै सोच को फरक हो |सोच बदलिंदै गएपछि नैं समाज रुपान्तरण हुने हो | काम आफैंमा सानो वा ठुलो हुने हैन|जबसम्म समाजमा काम प्रति सम्मान गर्ने प्रबृत्ति बढ्दैन, हाम्रो समाज र देश पिछड़ीएकै अवस्थामा रहन्छ | आजभोली त नेपालमा बिदेश बाट पढेर,राम्रो सिप हाशिल गरेर स्वदेश फर्किएका साथीहरू  पनि थुप्रै हुनुहुन्छ | बिदेश आउन सोच राख्ने हरूले वहां-हरूसँग सम्पर्क गर्दा पनि राम्रो सलाह/सुझाव पाउन सक्नु हुन्छ |
अस्तु

Start typing and press Enter to search